गण्डकी प्रदेश सरकारलाई काँग्रेस नेताकै झटारो !

 

पोखरा, २८ असार । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा सरकारका मुख्यमन्त्रीदेखि मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेता एवं पारिवारिक सदस्यका नाममा खोलिएका ट्रस्टदेखि स्मृतिपार्क सम्मलाइ बजेट छुट्टाइएको भन्दै सत्तारूढ दलका नेताहरूले नै विरोध गरेका छन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य एवं गैर आवासीय नेपाली संघका सल्लाहकार हरिबोल भण्डारीले ट्‍वीट गर्दै भनेका छन् -‘देशको आवश्यकता र जनताको आकांक्षा विपरितका गतिविधिहरु स्वयंमा व्यवस्था विरोधि हो’ भण्डारीले भनेका हुन्, ‘प्राप्त व्यवस्था र संघीयता विरुद्ध नै प्रश्न उठिरहेको बेला प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, पहुँचवाला नेताहरूको व्यक्तिगत र पारिवारिक सदस्यको हितमा गरिएका निर्णयहरु स्वीकार्य छैन ।’

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीका बुबा-आमा वा परिबारका सदस्यको नाममा पार्क बनाउन देखि प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेको थियो । प्रमुख विपक्षी दल एमालेसहित आफ्नै दल भित्रबाट समेत विरोध भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले निर्णय फिर्ता गर्ने भनेका छन् । यसअघि प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले नै बजेटमा हस्तक्षेप गरेको कुरा बाहिर आएपनि पछि उनले समेत निर्णय फिर्ता गर्ने घोषणा गरेका छन् ।उनको बुबा-आमाको नाममा खोलिएको ट्रस्टले पनि राम्रै बजेट पाएको थियो ।

प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटमा त्रुटि गरेको भन्दै जनस्तरमा समेत विरोध भएको छ । उनी सत्ता घटक माओवादी पार्टीबाट मन्त्री भएका हुन् । गण्डकीमा काँग्रेस, माओवादी र जसपाको सरकार छ ।

एमाले प्रमुख विपक्षी दल छ भने नेकपा एकीकृत समाजवादीको यो प्रदेशमा एक जना पनि सांसद छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय