
कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित
सुर्खेत, २८ असार । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ ।


प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम राजश्व प्रशासनले गर्ने भन्दै राजश्व बढाउनेतर्फ बजेट लगानी गनुपर्नेमा जोड दिए ।

राजश्व सङ्कलनका क्षेत्र पहिचान गर्न र वित्तीय अनुशासन कायम गरी कर्णालीको दिगो अर्थतन्त्रमा सहयोग पुर्याउने योजना अगाडि बढाउनेतर्फ ध्यान दिन सदस्य रावलले सरकारलाई सुझाव दिए ।
उक्त छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने विषयमा प्रदेशसभा सदस्यले महत्वपूर्ण सुझाव दिएको प्रतिक्रिया दिए । उनले सरकार राजश्व वृद्धि गर्ने खालका कार्यक्रम तथा योजनाको बढोत्तरीमा लाग्ने जनाए ।
प्रदेश सरकारले आगामी आव २०७९/०८० का लागि यही असार १ गते रु ३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रस्तुत गरेको थियो ।
मुख्यमन्त्री शाहीले सभामा बजेट पारितका लागि प्रस्ताव गरेसँगै उक्त बजेट बहुमतले पारित भयो ।
Comments

