नेपाल नामिबियासँग पराजित
काठमाडौं, २७ असार । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ अन्तर्गत यस श्रृंखलाको पहिलो खेलमा हार व्यहोरेको छ । नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो ।
२२१ रनको विजयी लक्ष्य पाएको नेपाल ४६.५ १८० रनमा समेटियो । आरिफ शेखले सर्वाधिक ५० रन बनाए । उनी अन्त्यसम्म अविजित रहेका छन् ।
नामिबियाका डेभिड विजा, जान फ्राएलिन्क र बर्नार्ड स्कोल्जले २-२ विकेट लिए भने कप्तान जेरार्ड इरास्मस र रुबेन ट्रम्पलमेनले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा अलआउट हुँदै २२० रन बनाएको थियो । उसका लागि जान निकोल लोफ्टी इटनले सर्वाधिक ६० रन बनाए भने डिभान लाककले ४१ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए भने सोमपाल कामीले २ तथा करण केसी, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
जीतपछि नामिबिया लिग टु को तालिकामा १६ खेलबाट १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने नेपाल १७ खेलबाट १५ अंकसहित छैठौं स्थानमा झरेको छ ।
अर्को खेल नेपालले बुधबार स्कटल्यान्डसँग खेल्ने छ ।