काँग्रेसमा शेखर पक्ष आक्रामक

काठमाडौं, २६ असार । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जबर्जस्ती पेलेर अगाडि बढ्न खोजेको भन्दै काँग्रेसभित्रको असन्तुष्ट पक्ष आक्रामक बनेको छ ।

असन्तुष्ट पक्षको नेतृत्व गर्दै नेता डा. शेखर कोइरालाले आफ्नो पक्षका नेताहरुको बैठक आज पनि बोलाएका छन् । उनीहरुले महाधिवेशनको मतको आधारमा पार्टी जिम्मेवारी र सरकारमा समेत ४१ प्रतिशत सम्म भाग पाउनुपर्ने अडान राख्दै आएका छन् ।

सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन आजको बैठक बस्न लागेको कोइराला निकट स्रोतको भनाइ छ ।

काठमाडौँको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको र बैठकमा उनी पक्षका केन्द्रीय सदस्य तथा पार्टी नेताहरू उपस्थित हुनेछन् ।

पार्टी सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्‍चालना गरेको, विधान मिचेको लगायतका आरोप कोइराला पक्षले लगाउँदै आएको छ । बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा टिकट बाँडफाँड हुँदा आफ्नो पक्षले सम्मानजनक स्थान पाउनेपर्ने कुरालाई समेत छलफलको एजेन्डा बनाएको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय