टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइने
काठमाडौं, २४ असार । आइसिसी टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । आगामी अक्टोबर महिनामा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको ट्रफीलाई टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अनुसार ट्रफी टुर शुक्रबारबाट सुरु भएको छ । विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्याउने यात्रा सुरु भएको हो ।
उक्त ट्रफी ३० अगस्टमा काठमाडौं ल्याइने आइसिसीले जनाएको छ । यद्यपि ट्रफी नेपालको कुन-कुन ठाउँमा पुर्याइने भन्ने बारे खुलाइएको छैन ।
यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।