बागमती प्रदेश सरकार जोगियो, बानियाँले पनि दाबी छाडे

काठमाडौ, २१ असार । संघीय सरकारमा मन्त्री परिवर्तन भइरहँदा बागमती प्रदेश सरकार समेत फेरिने बजार हल्ला अब सेलाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच काठमाडौंमा वार्ता भएपछि बागमती सरकार परिवर्तन गर्ने विषय हाललाई सकिएको एक नेताले बताए ।

शीर्ष तीन नेताको वार्तापछि मुख्यमन्त्री दाबी गरिरहेका काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ पनि मुख्यमन्त्रीको दौडबाट पछि हटेका छन् । योसँगै सरकार परिवर्तनको लागि माओवादी र काँग्रेस सांसदद्वारा संकलन गरिएको हस्ताक्षर समेत अलपत्र परेको छ ।

कुनै चमत्कार नभएमा मुख्यमन्त्री बन्‍ने दौडमा रहेका काँग्रेस संसदीय दलका नेता बानियाँको लागि अब यो कार्यकालमा मुख्यमन्त्री बन्‍ने बाटो लगभग बन्द भएको छ ।

गएको कार्तिक ११ गते नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा नेकपा एससमेत माओवादी र काँग्रेस सम्मिलित सरकार गठन भएको थियो । त्यतिबेला पाण्डे र बानियाँका बीचमा ६/६ महिना मुख्यमन्त्री बन्‍ने सहमति समेत थियो ।

पूर्वसहमति अनुसार पदबाट हट्न नमानेको भन्दै काँग्रेस र माओवादी सांसद मुख्यमन्त्रीविरूद्ध हस्ताक्षर संकलन गरिरहेका बेला शीर्ष तीन नेताले तत्काल यो कदम नचाल्न आफ्ना कमिटीमा जानकारी गराएपछि पाण्डे नेतृत्वको प्रदेश सरकार जोगिएको हो ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा, माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष नेपालबीच अहिले कुनैपनि सरकार परिवर्तन नगर्ने भद्र सहमति भएको स्रोतले बतायो ।

यदि बागमती प्रदेशको नेतृत्व छाड्न परे सुदूरपश्चिम सरकारको नेतृत्व पाउनुपर्ने नेकपा एसको दाबी थियो । सुदुरपश्चिममा हाल माओवादी नेता त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय