उपेन्द्र यादवलाई बाबुरामको काउन्टर !
काठमाडौं, २० असार । करिब करिब फुटको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएकै दिन बाबुराम भट्टराई पक्षले पनि विस्तारित बैठक बोलाएपछी पार्टी फुटको नजिक पुगेको हो ।
यादव पक्षको वीरगञ्जमा केन्द्रीय समिति बैठक हुनेछ भने बाबुराम पक्षले काउन्टर स्वरुप काठमाडौंमा विस्तारित बैठक बोलाएको छ ।
आगामी २९ र ३० गतेका लागि यादव पक्षले केन्द्रीय समिति बैठक वीरगञ्जमा राखेको छ भने सोही दिन काठमाडौंमा बाबुराम पक्षको विस्तारित बैठक बोलाइएको नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसअघि बाबुराम पक्षले पार्टी केन्द्रीय बैठकमा नजाने निर्णय गरेको थियो । आजै जसपाको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी मन्त्री फेरबदल समेत गरिसकेको छ ।
यसअघि भट्टराई पक्षमा खुलेका पर्साका प्रदीप यादव र बाँकेका मोहम्मद इस्तियाक राई आजै उपेन्द्र पक्षमा लागेर मन्त्रीको शपथ लिइसकेका छन् ।