जसपा बैठक सर्यो, बाबुराम पक्ष नजाने
काठमाडौं, २० असार । आन्तरिक भूमरीमा फसेको जनता समाजवादी पार्टी (जसपा)को असार २७ देखि वीरगञ्जमा हुने भनिएको केन्द्रिय समिति बैठक दुई दिन पछिका लागि सरेको छ ।
बैठक असार २९ र ३० गतेका लागि सारिएको उक्त पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार बैठक स्थल भने वीरगञ्ज नै हुनेछ । मुस्लिम समूदायको बकरईद चाड परेका कारण बैठक सार्नु परेको अधिकारीले बताए ।
यसैगरी जसपाको केन्द्रीय समिति बैठकमा सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षीय नेताहरूले भने बहिस्कार गर्ने भएका छन् । बाबुराम पक्षका एक केन्द्रीय सदस्यले बैठकमा नजाने कुरामा साथीहरूको जोड रहेको बताए ।
तर,पछिल्लो समय उपेन्द्र यादवलाई छाडेर बाबुरामतिर सम्पर्क बढाएका नेताहरूले भने बैठकमा जाने-नजाने निर्णय अनिश्चित रहेको बताएका छन् ।
पूर्व नयाँ शक्ति पार्टीमा रहेका अधिकांश नेता बाबुराम पक्षमा खुलेका छन भने उपेन्द्र यादव पक्षमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादव पनि हाल बाबुराम पक्षमा खुलेका छन् ।
जसपामा बाबुराम र उपेन्द्र यादवबीच सल्लाहमै अलग हुने सहमति भएको चर्चा बाहिर आएसँगै अहिले नेता तानातानमा परेका छन् ।