कृपया यो चिठी मेयरसम्म पुर्याइदिनुहोला …
दर्शन ढुंगानाआदरणीय नगर प्रमुखज्यु,
पोखरा महानगरपालिका, कास्की
उच्च आदरका साथ लेख्दै छु, केही अनादर सुनिए-देखिए माफ गरिदिनुहोला ।
महोदय,
यस पोखरा महानगरपालिका वडा नं-९ नयाँबजारमा प्रत्येक वर्षाको मौसममा आउने गरेको पानी । यो पानी हाम्रो घरको मेन ट्याङ्कीमा झर्छ । हामी यो पानीलाई पिउन र खाना पकाउनबाहेक सबै कामको लागि प्रयोग गर्छौं । त्यसै कारणले होला हाम्रो परिवारको सबै जना ‘सामान्य’ बिरामी छौं । यहाँ ‘सामान्य’ शब्द आफैंमा असामान्य छ । तपाईंलाई कति थाहा होला-नहोला, कतिपयले त यै पानीलाई पिउने र खाना पकाउनको लागि प्रयोग गर्छ्न् ।
अब मेरो प्रश्न नवनिर्वाचित मेयर सा’बलाई !
१) जनताको अति आधारभुत खानेपानीको अवस्था जुन हरेक वर्ष यही मौसममा खत्तमै हुने गरेकोमा तपाईले के कदम चाल्नुभयो ?
२) कुन ठाँउमा कस्तो पानी वितरण हुँदै आएको छ, पानीको गुणस्तर जाँच गर्न कस्तो संयन्त्र प्रयोग गर्नु भयो ?
३) तपाईं निर्वाचित भएपछि जनतालाई प्रत्यक्ष फरक पाउने कामहरु त पक्कै सुरु गर्नु भयो होला । तर ती जनता कता छन् ?
यी मेरा प्रश्नहरु प्रतिनिधि प्रश्न मात्र हुन् । म यी प्रश्नलाई सार्वजिक फोरम मार्फत तपाईंसमक्ष राख्दै छु । कृपया सार्वजनिक फोरममै जवाफ दिनुहोला । प्रशंसा गर्ने मौका दिनुहोला । म तपाईंको प्रशंसा गर्न चाहन्छु ।
-तपाईकै घर पारीको छिमेकी
रिजन ढुंगाना (दर्शन)