नेविसंघ पश्चिमाञ्चल क्याम्पसद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पोखरा, २० असार । नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । मणिपाल कलेज अफ मेडिकल साइन्स रोट्रयाक्ट क्लबको संयोजकत्वमा शनिबार उक्त शिविर आयोजना भएको थियो ।
मौसमको प्रतिकूलता, अविरल वर्षा र क्याम्पस विदाको दिन भएतापनि यस स्वास्थ्य शिविरमा करिब ५00 जना विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीयहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण धन भएको कुरा उल्लेख गरेका थिए । शिविर आयोजना गरिएकोमा धन्यवाद दिँदै उनले आगामी दिनमा पनि यस्तै किसिमको लाभदायी कार्यक्रम आयोजना गर्न शुभकामना पनि दिए ।
कार्यक्रमको विशिष्ट आतिथ्यता नेपाल ईन्जिनियरर्स एशाेसियसन गण्डकी प्रदेश सभापति ईन्जिनियर वृजेन्द्र केसीले गरेका थिए भने मेडिकल कलेजका डाक्टर रमेश तिवारी, डाक्टर सुस्मिता खर्ग एवम् रोट्रयाक क्लब सभापति रन्जना केसीको विशेष आतिथ्यतामा कार्यक्रम सुसम्पन्न भएको थियो।
सम्पूर्ण विद्यार्थी वर्गको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पस २९औं कार्यसमितिका सभापति प्रदिप पनेरुले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सम्पूर्ण स्वास्थ्य स्वयंसेवक लाई सभापति प्रदिप पनेरु र उपसभापति सन्देश पोखरेलले कदरपत्र वितरण गरेका थिए भने राेट्र्याक्ट क्लबकी सभापति रञ्जना केसीले मायाको चिनो वितरण गर्दै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गरिन् ।
कार्यक्रमको समापन गर्दै सभापति पनेरुले सम्पूर्ण विद्यार्थी, स्वास्थ्य स्वयंसेवकहरुमा धन्यवाद प्रकट गर्दै नेपाल विद्यार्थी संघ सदैव विद्यार्थी हकहितका लागि अग्रपङ्त्तिमा रही काम गर्ने र आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।