विमला वली दोषी भएको छानविन समितिको निष्कर्ष

बुटवल, १९ असार । लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ ।

राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानविन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानविन समितिको ठहर छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीलाई शनिबार प्रतिवेदन हस्तान्तरण गर्दै छानविन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृत रूपमा अरूको घरमा जानु कमजोरी भएको बताए ।

मन्त्री शर्माले एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्नु गलत भएको बताए ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिक रूपमा राज्यमन्त्री वलीबाट कमजोरी भएको देखिएको बताए । उनले प्रतिवेदनको अध्ययनपछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने उल्लेख गरे ।

गत जेठ ३१ गते राज्यमन्त्री वलीले दाङ तुलसीपुरका वाइसिएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी पत्नी मीना तथा छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्री शर्माको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

छानविन समितिको प्रतिवेदन आउनुअघि राज्यमन्त्री वलीले पदबाट राजीनामा दिइसकेकी छन् ।

नेकपा एमालेबाट निर्वाचित श्रीमान् उत्तरकुमार वलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय