पोखराका फिजियोथेरापी विद्यार्थी आमरण अनसनमा
पोखरा, १७ असार । पोखरा विश्वविद्यालयमा अध्ययनरत फिजियोथेरापीका विद्यार्थीले विभिन्न मागसहित अनसन सुरु गरेका छन् ।
‘स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स’ अन्तर्गत फिजियोथेरापी कार्यक्रम सम्बन्धित निकायमा दर्ता नगरिएको भन्दै विद्यार्थीले बिहिबारदेखि आमरण अनसन थालेका हुन् ।
‘पोखरा विश्वविद्यालयअन्तर्गत स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्समा बिगत २०१८ देखि खुलेको फिजियोथेरापी कार्यक्रम आजको मिति सम्म पनि सम्बन्धित परिषद एनएचपिसिमा दर्ता नभएको र भैतिक पुर्वाधारको कमि हुँदा हामी आमरण अनशन जस्तो कठोर कदम लिन बाध्य भएका छौँ,’ विद्यार्थीले विज्ञप्तिमार्फत भनेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसि)ले बिभिन्न भौतिक पुर्वाधार एवं स्रोत साधनको कमि रहेको उल्लेख गर्दागर्दै पनि विश्वविद्यालयले सन् २०१८ र २०१९मा विद्यार्थी भर्ना गर्ने र कार्यक्रम संचालन गरेकोमा विद्यार्थीले आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘पुर्व पदाधिकारी स्वास्थ विज्ञान संकायका पुर्व डिन डा खेमराज जोशी एवं स्कुल अफ हेल्थ एन्ड एलाइड साईन्सका पुर्व निर्देशक डा.डमरु पनेरुको यो कदमले हाम्रो भविष्यमा नै ठुलो प्रश्न उठेको छ । झण्डै १० लाख लिएर विद्यार्थीहरुलाई अन्योलमा राख्दै सम्बन्धित परिषदमा पारित नगराई विषयमा भर्ना लिने जस्तो जघन्य अपराधको स्पष्टिकरण हामिले सम्बन्धित व्यक्तिसँग माग्दछौँ ।’
विद्यार्थीले तत्काल परिषदमा दर्ता गराउने र भौतिक पूर्वाधार बनाउने लिखित प्रतिबद्धता नभएसम्म अनसन नतोड्ने जनाएका छन् ।