बस दुर्घटनामा एकको मृत्यु, ११ घाइते
सप्तरी, ९ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना ५ ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।
विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको छ । अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।