वेस्ट इन्डिजले इतिहासमै पहिलोपटक विश्‍वकप नखेल्ने

काठमाडौं, १६ असार । दुईपटकको एकदिवसीय क्रिकेट विश्‍वकप विजेता वेस्टइन्डिजले यसपटकको विश्‍वकप नखेल्ने भएको छ । शनिबार भएको विश्‍वकप छनौटअन्तर्गत स्कटल्यान्डसँगको खेलमा पराजित भएसँगै वेस्ट इन्डिज विश्‍वकपमा छनौट नहुने पक्का भएको हो ।

सुपर सिक्सअन्तर्गतको पहिलो खेलमा वेस्ट इन्डिज स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको हो । पराजित भएसँगै अंकविहीन रहेर सुपर सिक्समा आएको वेस्ट इन्डिजले अबका दुई खेल जितेपनि पर्याप्त हुने छैन ।

वेस्ट इन्डिजले दिएको १८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । स्कटल्यान्डको जितमा म्याथ्यु क्रस ७४ रनमा अविजित रहे । त्यसैगरी ब्रेन्डन माकमुलेनले ६९ रन बनाए । वेस्ट इन्डिजका जेसन होल्डर, राेमारियो शेपहर्ड र अकिल होसेनले १ १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १८१ रनमा अलआउट भएको थियो । वेस्टइन्डिजका जेसन होल्डरले सर्वाधिक ४५ रनको योगदान दिए । रोमारियो शेपहर्डले ३६ रन बनाए । यी दुई बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।

स्कटल्यान्डका ब्रेन्डन माकमुलेनले ३ विकेट लिँदा क्रिस सोल मार्क वाट र क्रिस ग्रिभ्सले  २ २ तथा सफ्या सरिफले १ विकेट लिए । यस जीतसँगै स्कटल्यान्डले भने विश्‍वकपमा छनौट हुने सम्भावना कायमै राखेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय