गोपाल दम्पतीको ‘सम्पत्ति’ जफत !
१८ करोड ६६ लाख ५ हजारको सम्पत्ति गैरकानूनी
काठमाडौं, १६ असार । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का र उनकी श्रीमतीको सम्पत्ति जफत हुने भएको छ । विशेष अदालतले खड्कालाई एक वर्ष तीन महिना कैद सजाय समेत तोकिदिएको छ । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै विशेष अदालतले उनलाई यस्तो सजाय सुनाएको हो।
विशेष अदालतका श्रीकान्त पौडेल तथा शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने आदेश गरेको छ। अख्तियारले २०७५ पुस २३ पुस गते खड्काविरुद्ध मुद्दा दायर गरेको थियो।
खड्कासँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ। खड्का दम्पती बाहेक यो मुद्दामा अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ। यसैगरी अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई शुक्रबार नै विशेष अदालत काठमाडौंमा आरोप-पत्र पनि दायर गरिएको छ।
खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बाको नाममा लुकाएको र आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई राखेको देखिएको छ। उनी २०६९ चैत २ गतेदेखि निगमको कार्यकारी निर्देशक थिए। खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ खर्च तथा लगानी गरेकोमा ८ करोड ६४ लाख ६९ हजार ७५१ को मात्र स्रोत खुलेको दाबी अख्तियारले गरेको थियो। स्रोत नखुलेको १८ करोड ६६ लाख ५ हजारको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको दाबी अख्तियारको थियो।
खड्काले अमिता लामा सोदेम्बाको नाममा ७ करोड ५४ लाख ५७ हजार ८७५ बराबरको सम्पत्ति लुकाई राखेको देखिएको छ।
अख्तियारको पत्रमा उल्लेख भए अनुसार खड्काको विवरण यस्तो छ:
काठमाडौं जिल्ला साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२।
जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी।
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको।
दशी प्रमाणको रूपमा नगद दाखिला
जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ ‘ग’ मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको गुड फर पेमेन्ट चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको छ।

