साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं, ८ असार । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारत खेल्दै छन् । बैंगलोरको श्री कान्तिराव रङ्गशालामा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि सुरु हुने छ ।
भारतले आफ्नो पहिलो खेलमा सुनिल क्षेत्रीको ह्याट्रिक मद्दतले पाकिस्तानमाथि ४-० को जीत निकालेको थियो भने नेपाल कुवेतसँग ३-१ ले स्तब्ध बनेको थियो ।
नेपाल र भारत दुई चिर परिचित प्रतिद्वन्द्वी हुन् । हालसम्म यी दुई टोलीबीच भएका २३ खेलमा भारत १६ खेलमा विजयी भएको छ भने नेपालले दुई खेल मात्र जितेको छ । पाँच खेल बराबरीमा सकिएका छन् ।
पछिल्लोपटक नेपाल माल्दिभ्समा भएको अघिल्लो संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै उपाधि जित्नबाट वञ्चित भएको थियो ।
प्रतियोगितामा जीवितै रहन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहने छ । आजको खेलमा नेपाल पराजित भएर कुवेतले पाकिस्तानलाई हराएमा नेपाल र पाकिस्तान एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने छन् ।

