सरकार सत्ता टिकाउन मात्र लागिपर्यो: रवि लामिछाने

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको बताए ।
उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए।
राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

