ओमानमाथि श्रीलंकाको सहज जीत, हसरङ्गाले फेरि लिए ५-विकेट

काठमाडौं, ८ असार । जिम्बावेमा जारी आइसिसी विश्‍वकप छनौटअन्तर्गत आज भएको समूह बी अन्तर्गतको खेलमा श्रीलंकाले सहज जीत हासिल गरेको छ । श्रीलंकाले ओमानलाई १० विकेटले हराएको हो ।

ओमानले दिएको ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले १५ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्‍यो । श्रीलंकाका ओपनरद्वय दिमुथ करुणारत्‍ने ६१ तथा पथुम निसान्का ३७ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३०.२ ओभरमा अलआउट हुँदै ९८ रन मात्र बनाएको थियो । अयान खानले सर्वाधिक ४१ रन बनाए भने जतिन्दर सिंहले २१ तथा फयाज बटले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानको इनिङ्स ध्वस्त पार्न श्रीलंकाका वानिन्दु हसरङ्गाले १३ रन मात्र दिएर ५ विकेट लिए । हसरङ्गाले पहिलो खेलमा युएईविरुद्ध पनि ६ विकेट लिएका थिए । त्यसैगरी लहिरु कुमाराले ३ तथा कसुन रजिथाले १ विकेट हात पारे ।

यस जीतसँगै श्रीलंकाले २ खेलमा ४ अंक जोड्दै सुपर सिक्समा पुग्‍ने लगभग पक्का भएको छ । ओमानको पनि ३ खेलमा ४ अंक छ र सुपर सिक्समा पुग्‍ने सम्भावना अझै पनि बलियो नै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय