विश्‍वकप छनौटमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं, ६ असार । जिम्बावेमा जारी आइसिसी क्रिकेट विश्वकप छनौटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो ।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जीतमा भीम सार्कीले अविजित अर्धशतकीय पारी खेले । सार्की ७७ रनमा अविजित रहे ।

दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन तथा कुशल भुर्तेलले ३९ रन बनाए । अमेरिकाका स्टेभेन टेलर, सौरम नेत्रभल्कर, नस्थुस केन्जिगे र निसार्ग पटेलले १-१ विकेट लिए ।

तयसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनायो । अमेरिकाका शहान जहाङ्गिरले शतकीय पारी खेले । अमेरिकाको सुरुवात खराब भएको अवस्थामा उनले सातौं नम्बरमा ब्याटिङमा आएर अविजित १०० रन बनाए । त्यस्तै सुशान्त मोदानीले ४२ रन बनाए ।

नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिँदा ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

यस जीतसँगै नेपाल २ खेलमा २ अंक जोड्दै तालिकामा तेस्रो स्थानमा रहेको छ । नेपालले अब तेस्रो खेल बुधबार वेस्टइन्डिजसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय