विश्‍वकप छनौट: आयरल्यान्डलाई हराउँदै ओमानको विजयी सुरुवात

काठमाडौं, ४ असार । जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा ओमानले जीत निकालेको छ । ओमानले आयरल्यान्डलाई ५ विकेटले हराएको हो ।

आयरल्यान्डले दिएको २८२ रनको लक्ष्य ओमानले ११ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो । ओमानको जीतमा कश्‍यप प्रजापतिले ७२ रन बनाउँदा कप्तान जिशान मकसुदले ५९ तथा आकिब इल्यासले ५२ रन बनाए । मोहम्मद नदीम ४६ रनमा अविजित रहे । आयरल्यान्डका जोसुवा लिटिल र मार्क अडेयरले २-२ विकेट लिँदा जर्ज डकरेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनाएको थियो । उसका लागि जर्ज डकरेलले अविजित ९१ रनको योगदान दिए । त्यसैगरी ह्‍यारी टेक्टरले ५२ रन बनाए ।

लोरकान टकरले २६, पल स्टर्लिङले २३ र गारेथ डेलानीले २० रन बनाए । ओमानका बिलाल खान र फयाज बटले २-२ विकेट लिए भने जिशान मकसुद आयान खान र जय ओदेराले १ १ विकेट हात पारे ।

जीतसँगै ओमानले २ अंक जोड्दै सुपर सिक्समा पुग्‍नका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय