युएईमाथि श्रीलंकाको विशाल जीत, हसरङ्गाको ६ विकेट

काठमाडौं, ४ असार । जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह बी अन्तर्गतको खेलमा श्रीलंकाले विशाल जीत निकालेको छ । श्रीलंकाले युएईलाई १७५ रनले हराएको हो ।

श्रीलंकाले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको युएई ३९ ओभरमा १८० रनमा अलआउट भयो । उसका लागि कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दले समान ३९ रन बनाए । त्यसैगरी अली नासिरले ३४ रन बनाए ।

श्रीलंकाका वनिन्दु हसरङ्गा एक्लैले ६ विकेट लिए । उनले ८ ओभरमा २४ रन मात्र दिएर ६ विकेट लिएका हुन् । त्यस्तै लहिरु कुमारा, महिश थिकशाना र धनन्जय डासिल्भाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३५५ रन बनाएको थियो । उसका लागि कुशल मेन्डिसले सर्वाधिक ७८ रन बनाए भने सदिरा समराविकरामाले ७३ रन बनाए ।

त्यस्तै पथुम निसान्काले ५७, डिमुथ करुणारत्‍नेले ५२ र चरिथ असलन्काले अविजित ४८ रन बनाए । युएईका अली नासिरले २ विकेट लिँदा रोहन मुस्तफा, आयान अफजल खान र बासिल हामिदले १-१ विकेट लिए  ।

यस जीतसँगै श्रीलंकाले २ अंक जोडेको छ भने उत्कृष्ट नेट रनरेटका साथ सुपर सिक्समा पुग्‍नका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय