एर्भिन र विलियम्सको शतकमा जिम्बावेले नेपाललाई हरायो

काठमाडौं, ३ असार । जिम्बावेमा आजदेखि सुरु भएको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २९१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जिम्बावेका लागि कप्तान क्रेग एर्भिन र शन विलियम्सले शतकीय पारी खेले । एर्भिनले अविजित १२१ रन बनाउँदा विलियम्सले अविजित १०२ रन बनाए ।

दुई ब्याटर मिलेर तेस्रो विकेटका लागि १६४ रनको शानदार अविजित साझेदारी गरेका थिए । त्यसैगरी वेस्ले माधेवेरेले ३२ तथा जोलर्ड गम्बीले २५ रन बनाए । नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ९९ रन बनाउँदा अर्का ओपनर आसिफ‌ शेखले ६६ रन बनाए ।‌‌‌ त्यसैगरी कुशल मल्लले ४१ रन बनाए ।

जिम्बावेका लागि रिचार्ड एनगर्भाले ४ विकेट लिए भने वेलिङटन मसाकड्जाले २ तथा ब्लेसिङ मुजाराबानी र तेन्डाई चताराले १-१ विकेट लिए । म्यान अफ दि म्याच जिम्बावेका कप्तान विलियम्स घोषित भए ।

ब्याटिङमा शानदार प्रदर्शन गरेपनि बलिङमा राम्रो गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो । नेपालले आफ्नो दोस्रो खेलमा मङ्गलबार अमेरिकासँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय