यसबर्ष पनि यार्चागुम्बुको मूल्य केजीको ३० लाख !

काठमाडौं, ३१ जेठ । धेरैले ‘यार्सागुम्बा’ भन्ने गरेको जडिबुटीको ‘राजा’ यार्चागुम्बुको मूल्य यसबर्ष प्रति केजी ३० लाख भन्दा बढी पर्ने अनुमान व्यापारीले गरेका छन् । जेठ पहिलो सातादेखि कर्णालीका हिमाली जिल्लामा यार्चागुम्बु टिप्न सुरु भैसकेको छ। कतिपय स्थानीय यार्चागुम्बु टिपेर घर फर्किने तयारीमा समेत छन् ।

असार १५ पछि यार्चागुम्बु टिप्न मिल्दैन। स्थानीय वन समिति,निकुञ्ज क्षेत्र  र गाउँ पालिकाले टिप्न अनुमती दिएपछि स्थानीयहरु खाने सामल सहित बस्ने टेन्ट र कपडा बोकेर जंगल पसेका थिए।उनीहरुले टिपेको यार्चागुम्बुलाई अब ठेकेदारले बन कार्यालयलाई निश्चित राजस्व बुझाएर  संकलन गर्नेछन् ।

ठेकेदारले प्रतिकिलो ३१ हजारको दरले राजस्व बुझाएको भौचर ल्याएपछि मात्रै वन कार्यालयले उनीहरुलाई संकलन पुर्जी र बिक्रिका लागि छुट पुर्जी बनाइदिने गरेको छ।कर्णालीका मुख्य यार्सा पाइने जिल्ला डोल्पा,मुगु,हुम्ला र जुम्लामा ठेकेदारहरु पनि पुगिसकेको स्थानीय छिम्मी डोमाले जानकारी दिए।

यसैगरी संकलन र छुटपुर्जी लिएका ठेकेदारसंग स्थानीयले कारोबार गर्दा सजिलो हुने लोटस हर्बल एन्ड हेन्डीक्राप्फ्टका प्रोपाइटर ङिमा छिरिङ बुढा बताउँछन् । ‘सरकारी कर बुझाएर छुटपुर्जी लिनेले सजिलोसँग ब्यापार गर्न सक्छ। यसरी कानुनी प्रक्रिया पूरा गरेर बजारमा आएको यार्सा गुणस्तरको हुनुको साथै उपभोक्ताको लागि पनि हितकर हुन्छ’ उनले भने-‘यार्चागुम्बुको पनि विभिन्न गुणस्तर कायम गरिएको हुन्छ। सिजनमै टिपेको,साइज ठूलो र मोटो भएको सबैभन्दा उच्च गुणस्तरको हुनेछ। जसको बजार मुल्य प्रती केजी ३० लाख भन्दा बढी पर्दछ।’

यार्चागुम्बु विशेषत औषधि जन्य कुरा भएकोले यसले भिटामिन सहित शरीरमा इनर्जी दिने र  शरीरमा भएका घातक रोगको समेत प्रतिरोध गर्ने  क्षमता राख्दछ ।’यसको महत्त्व अझै धेरैले बुझेको देखिन्न। धेरैले यौन क्षमता बढाउने मात्रै भनेर प्रचार गर्दछ्न त्यो मात्रै होइन’-लोटस हर्बल एन्ड हेन्डीक्राप्फ्टका प्रोपाइटर ङिमा छिरिङ बुढा भन्छन्-‘यो शक्तिबर्धक कुरा हो, यसले सुगर,प्रेसर जस्ता रोग भएकालाई पनि कुनै साइड इफेक्ट पार्दैन,शरीरमा चाहिने जति इनर्जी दिनसक्ने भनेकै यार्सा हो।’

धेरैलाई यार्चागुम्बुबारे थाहा नै छैन। कसैले यो किरा हो भन्छन त कसैले च्याउ वा अन्य बनस्पति भनिरहेका हुन्छन् । शुरुमा एक जोडी किराले अन्डा पार्ने र अन्डा पार्दासम्म त्यो किरा नै हो। त्यसले कार्तिक मंसिर तिर अन्डा पार्ने रहेछ। त्यसपछि यो घिर्सेर माटोभित्र हिड्छ र हिंड्दा हिंड्दै त्यसको आयु सकिन्छ।

त्यसपछि त्यो जोडीले माटोमा टाउको बाहिर निकाल्छ र त्यसमा टाउकोमाथी च्याउ निस्कन्छ। जब च्याउ निस्कन्छ त्यो मर्छ। त्यसको शरीरमा रगतको ठाउमा दूध जस्तो पदार्थ हुन्छ। टिप्नेहरुले च्याउको संकेत बाटै टिप्न सक्ने हो।

त्यसलाई बाहिर निकालेर सफा गरेपछि सुकाउने त्यसपछी सुतिको कपडामा ओभानो बनाएर राख्नुपर्छ । शरीरमा रगतको सट्टामा हुने त्यै दुधिलो पदार्थ सुकेर भिटामिन हुने हो।


Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय