झापामा पनि पेट्रोलियम डिपो बनाइने, हालको पाइपलाइन लोथरसम्म विस्तार गरिने

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र भण्डारणसम्बन्धी सम्झौतामा समझदारी भएको छ । दुई वटा पेट्रोलियम पाइपलाइन विस्तार र एउटा पेट्रोलियम भण्डारणको परियोजना बनाइने सम्झौतामा उल्लेख छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनसार भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको निर्माण हुने छ । यसअघि निर्माण गरिएको मोतीहारिदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन चितवन-मकवानपुर सिमानाको लोथरसम्म विस्तार हुने छ ।
त्यसैगरी झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाइने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुने प्रक्षेपण गरिएको छ ।

