नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट लगायतका सात सम्झौतामा हस्ताक्षर

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच सात विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो ।
स्रोतका अनुसार तल्लो अरुण, फुर्कोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायतका विभिन्न विषयका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी पनि दिएका छन् ।
यसैबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग लङ टर्म पावर एग्रिमेन्ट भएको जनाउँदै नेपालसँग रहेका सीमा लगायतका सबै समस्याको पनि समाधान गर्ने बताएका छन् ।
प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


