बजारमा आर्थिक मन्दी, पसल र रेस्टुरेन्ट रित्तै !
सटर र कोठा पनि खाली हुन थाले
काठमाडौ,२८ बैशाख। सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेकै समयमा देशमा आर्थिक संकट झन् गहिरिदै गएको छ।
काठमाडौ लगायत देशका मुख्य शहरमा आर्थिक चहलपहल घट्दै गएको र त्यसले अर्थ ब्यबस्थालाई नै चुनौती थपिएको बिज्ञहरु बताउँछन् । आर्थिक गतिविधि शुन्य जस्तै हुँदा पनि सरकारले भने अझै ढाकछोप गर्न खोजेको देखिन्छ।
पछिल्लो समय शहरका मुख्य ब्यापारीक केन्द्रमै घर,पसल र व्यावसायिक भवनका ७० प्रतिशत सटर खाली भएका छन् भने आवास क्षेत्रमा कोठा खाली र बैंक तथा ब्यापारीक भवनमा भिडभाड पनि कम छ। होटल तथा रेस्टुरेन्टमा समेत चहलपहल छैन।
त्यसैगरी होलसेल पसलमा सामान किन्नेको भिड छैन भने खुद्रा पसलमा ग्राहक भेट्नु दुर्लभ भैसकेको ब्यबसायीको गुनासो छ। ब्यापारीक क्षेत्रमा जस्तै होटल रेस्टुरेन्टमा समेत भिड छैन। घरजग्गा कारोबार,व्यापार ब्यबसाय,जमघट र पार्टी प्यालेस समेत खाली छन् । केही बिहे र ब्रतबन्धका कार्यक्रम बाहेक पार्टी प्यालेसमा गरिने फजुल खर्च बन्द भएको छ।
घर जग्गाको कारोबार घटेको कारण मालपोत,नापी र वडा तथा नगरपालिकामा समेत ब्यबसायीको भिड कम छ। चारपाङ्ग्रे गाडी र दुइपाङ्ग्रे सवारीसाधनको व्यापार समेत घटेको व्यवसायीहरु बताउछन् ।’सवारीसाधनको व्यापार त चौपट छ’ अटोमोवाइल्स ब्यबसायी सुगत बज्राचार्य भन्छन्-‘सरकारले अवस्था सुधार्न कदम चाल्न ढिला भैसक्यो।’
आर्थिक संकट गहिरिनुमा सिमित ब्यक्तिको हातमा देशको अर्थतन्त्र कब्जा र सरकारी उदासीनता मुख्य कारण भएको साना ब्यबसायीको बुझाइ छ।’बिजनेस ग्रुपको नाममा सिमित ब्यक्तिले मात्रै बैंकको पैसामा पहुँच छ’ ब्यबसायी शुन्दर खत्री भन्छन्-‘नेपालको अर्थतन्त्र थोरै ब्यक्तिले आफू अनुकुल चलाउने र सरकार तथा राष्ट्रबैंकले नियन्त्रण गर्ने तर्फ ध्यान नदिदा अवस्था झन जटिल बनेको छ।’
ब्यापार नहुदा पनि घरभाडा र बैंक ब्याज तथा कर्मचारी खर्च भने बढिरहेको ब्यबसायीको भनाइ छ। मासिक भाडा,बैंक ब्याज र किस्ता तथा कर्मचारी खर्च ब्यबसाय कै कमाइले धान्न छाडेपछि पुनः ऋण लिएर खर्च ब्यबस्थापन गर्नुपर्ने अवस्थामा ब्यापारी पुगेका छन् ।

