दोस्रो प्रयासमा उपेन्द्रको संसदमा ‘इन्ट्री’ !
बारा-२ बाट विजयी
बारा, १३ वैशाख । मंसिर ४ गतेको चुनावमा जनमत पार्टीका उम्मेदवार सिके राउतसँग दोब्बरभन्दा बढी मतले पराजित भएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव अन्ततः दोस्रो प्रयासमा संसदभित्र इन्ट्री हुने भएका छन् ।
गएको आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव विजयी भएसँगै उनी संसदमा प्रवेश गर्ने पक्का भएको हो । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत ल्याए । दुईबीचको अन्तर ५ हजार ८१ मत रहेको थियो । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए ।
त्यसैगरी रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रबाट मंसिर ४ को चुनावमा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको सांसद पद पूर्ति गर्नका बैशाख १० गते उपनिर्वाचन भएको थियो । बारासँगै तनहुँ १ र चितवन २ मा पनि चुनाव भएको थियो ।
ती दुई क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु विजयी भएका छन् ।

