नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ: प्रधानमन्त्री

तनहुँ, ७ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् ।
बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताएका हुन् ।
सभामा प्रधानमन्त्रीले भने, ‘सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।’
मुग्लिङ–पोखरा सडकखण्डको स्तरोन्नति कार्यले उचित गति लिन नसकेको बताउँदै उनले यसलाई तीव्रता दिन सरकारको तर्फबाट गम्भीर पहल हुने जनाए ।
प्रधानमन्त्रीले निकै ठूलो मेहेनतपछि वर्तमान गठबन्धन फेरि एकतावद्ध भएर अघि बढेको बताउँदै संविधानको हुर्मत लिने र गणतन्त्रमाथि प्रहार गर्नेहरूविरूद्ध अहिलेको गठबन्धन बनेको बताए ।
चुनावी सभालाई पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

