माओवादी संसदीय दलको विधान संशोधन हुने

काठमाडौं, २८ चैत । नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधन गर्ने भएको छ। सो पार्टीले संशोधनका लागि पाँच सदस्यीय कार्य दल समेत बनाएको छ ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि पार्टीका प्रमुख सचेतक हितराज पाण्डको संयोजकत्वमा प्रतिनिधिसभाका सांसदहरु पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रियसभाका सांसदहरु जगप्रसाद शर्मा र गंगा बेलवासे सदस्य रहेको कार्य दल गठन गरेको हो ।
अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि सो कार्यदल बनाउने निर्णय गरिएको पार्टीको प्रमुख सचेतक पाण्डेले बताए। कार्यदललाई १ महिना भित्र पार्टी संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।
त्यसैगरी बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो संसदबाट पारित गराउन माग गर्ने निर्णय पनि गरेको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषदसम्बन्धी विधेयक तथा सम्पत्ति सुद्धिकरणसम्बन्धि विधेयक पनि छिटो पारित गर्नका लागि सदनमा माग गर्ने निर्णय पनि संसदीय दलको बैठकले गरेको प्रमुख सचेतक पाण्डेले बताए ।

