रवि लामिछानेलाई भएन अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग मुद्दामा सर्बोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश दिएको छ।

उनलाई राहदानी दुरुपयोग मुद्दामा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा यो आदेश भएको हो । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रहेको रिटमा निवेदकले करिब ४५ मिनेट र लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायीले १५ मिनेट बहस गरेका थिए।

बहसमा रिट निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता रमण कर्ण, अधिवक्ता राधिका खतिवडालगायतले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु नपर्ने निर्णय बदर गर्न माग गरेका थिए।
उनीहरुले बहसका क्रममा लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेको ठहर हुने कुनै प्रमाणित निस्सा हालसम्म पनि पेस गर्न नसकेको बताएका छन् । सो कारणले मुद्दा नचलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका थिए। मुद्दाको टुंगो नलाग्दासम्म लामिछानेलाई कुनै पनि राजनीतिक अधिकार प्रयोग गर्न नदिन समेत अन्तरिम आदेश माग गरिएको थियो।
साथै, लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय माघ १३ गते संवैधानिक इजलासबाट लामिछानेको सांसद पद खारेज गर्ने फैसलाले टुंगो लागिसकेको बताएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय