वेस्ट इन्डिजले पनि नेपालसँगै विश्वकप छनौट खेल्ने

काठमाडौं, २० चैत । दुई पटकको एकदिवसीय विश्वकप विजेता टोली वेस्ट इन्डिजले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्नका लागि छनौट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।
१३ टोली सम्मिलित आइसिसी विश्वकप सुपर लिगमा शीर्ष ८ मा पर्न नसकेपछि वेस्ट इन्डिजले पुनः छनौट खेल्नुपरेको हो । यसअघि २०१९ को विश्वकपको लागि पनि उसले छनौट खेलेको थियो ।
आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई हराएसँगै दक्षिण अफ्रिका आठौं स्थानमा उक्लिएको र वेष्ट इन्डिज नवौं स्थानमा झरेकाले वेस्टइन्डिजले विश्वकप छनोट खेल्ने पक्का भएको हो ।
छनौट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोली पनि रहेको छ । कुल १० टोली सहभागी रहने यस छनौट प्रतियोगिताबाट २ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
सुपर लिगमा पर्न नसकेका ५ टोली, गत महिना सम्पन्न विश्वकप लिग २ बाट शीर्ष ३ र हाल भइरहेको छनौट प्लेअफबाट दुई टोली गरी १० टोलीले छनौट खेल्ने छन् ।

