माधव नेपालको पार्टीमा ठूलो विद्रोहको तयारी

काठमाडौं, १८ चैत । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा असन्तुष्टि चुलिएको र यसले पार्टीमा विद्रोह हुनसक्ने चेतावनी समेत आएको छ । गएको मंसिर ४ को निर्वाचनमा सोचेजस्तो परिणाम नआउँदा र राष्ट्रिय पार्टी नबन्दा सांसद बन्न समेत नपाएकाहरु पुरानै पार्टी फर्किने तयारीमा रहेको समेत बुझिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रका नेताको कुरा सुन्न छाडेर एकल निर्णय लिने र काङ्ग्रेसको पछि लागेर कम्युनिस्ट आन्दोलन कमजोर बनाउने भुमिका निर्वाह गर्न थालेको कुरा समेत उठ्न थालेको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनाल,सचीव रामकुमारी झाक्री,नेता किसान श्रेष्ठले पार्टी भित्र बिधि र पद्धतिको कुरा समेत उठाउन थालेका छन् । केही दिन अघि पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलले पार्टी छाडिसकेका छन् ।

पार्टी भित्र असन्तुष्टि बढ्दै जाँदा अझै केही संस्थापक नेताहरु एमाले फर्किने तयारीमा पुगेका छन् । यसमा गण्डकी प्रदेश र बागमती प्रदेशका सिनियर नेताहरू समेत रहेको स्रोतको भनाइ छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पछिल्लो केही दिनदेखि समाजवादी नेताकार्यकर्ता संग निरन्तर भेटघाट र छलफल गरिरहेका छन् । ‘त्यहाँ रहेका धेरै साथीहरू एमाले फर्किन सकारात्मक हुनुहुन्छ’, एमाले स्रोतले भन्यो- ‘माधव नेपालको पछि लागेर धेरै ठूलो गल्ती गरियो भन्ने साथीहरूलाई लागेको र पुरानै पार्टीमा फर्किने वातावरण बनाउन भनिरहेका छन् ।’

भर्खरै पार्टी छाडेका र अब छाड्न चाहनेलाई केही दिनमा एमालेमा स्वागत गर्ने तयारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत यसबारे छलफल भएको पार्टी नेताहरूले बताएका छन् ।

पछिल्लो समय नेकपा एमालेले राष्ट्रपति बनाउन खोज्दा अध्यक्ष नेपालले अरुका कुरा सुनेर पछि हटेको र काङ्ग्रेससँग मिलेर एमाले सिध्याउन खोजेको आरोप समेत पार्टीभित्रैबाट लागेको छ । वैशाख १० को उपनिर्वाचन अगाडी नै सो पार्टीका धेरै जसो नेताकार्यकर्ता एमाले फर्किने स्रोतले बतायो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय