विराटनगरको झडपमा प्रहरीसहित २० भन्दा बढी घाइते

काठमाडौं, १४ चैत । विराटनगरमा पहिचानवादी आन्दोलनका प्रदर्शनकारी र प्रहरीबिच झडपहुँदा ६ प्रहरी सहित २० भन्दा बढी घाइते भएका छन् ।
कोशी प्रदेशका सांसदहरू सहभागी कार्यक्रमस्थल घेराउ गर्न विभिन्न स्थानबाट आन्दोलनकारी बस चढेरै विराटनगर पुगेका थिए। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १२ जना प्रदर्शनकारी र ६ जना प्रहरी घाईते भएका हुन्।
अन्तरक्रिया कार्यक्रम भइरहेको बेला कोशी नाम खारेजीको माग गर्दै आन्दोलनकारी कार्यक्रमस्थल रहेको होटलमै पुगेका थिए। ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि’स्रोत व्यवस्थापन सम्बन्धी कार्यक्रम चलिरहेको बेला इटहरी, धरान र ईनरुवादेखि बस चढेर प्रदर्शनकारी विराटनगर पुगेका थिए।
झडपमा मोरङ ग्रामथानका सुरज राई, धरान १२ का अशोक राई, धरानका २२ वर्षीय उदय लिम्बू, इटहरी ५ का पदम केरुङ, धरान १६ का शिव आङदेम्बे, धरानकै ज्ञानप्रकाश राई, धरान ५ का एके दर्नाल धरान ५ का विशाल राई घाइते भएको कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । उनीहरूको पारस अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र दर्जनौं अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ।

