आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना

काठमाडौं, १२ चैत । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

