काँग्रेसबाट मन्त्री बनाउने जिम्मा आरजु देउवालाई !

काठमाडौं, १० चैत । नेपाली काङ्ग्रेसले वर्तमान सरकारमा जाने मन्त्रीहरुको नाम करिब-करिब टुंगो लगाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद बिस्तारको गृहकार्य थाले लगत्तै काङ्ग्रेसबाट सरकारमा जाने र मन्त्री बन्ने ‘दौड’ सुरु भएको छ । स्रोतका अनुसार काङ्ग्रेसबाट को-को मन्त्री बन्दैछन भन्ने कुरा सभापति देउवालाई भन्दा बढी उनकी पत्नी आरजु देउवालाई जानकारी छ।
प्रचण्डपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गठबन्धन दलभित्र सहमति छ।
यसो हुँदा प्रचण्ड, नेपाल र देउवा प्रधानमन्त्री बन्दा पालैपालो मन्त्री बन्ने अवसर धेरैले पाउने देखिन्छ । तर, पछिको भविस्य के हुन्छ भन्न ग्यारेन्टी नभएको भन्दै पहिलो चरणमै मन्त्री बन्ने दौडमा धेरै नेता छन् ।
नेपाली कांग्रेसमा मन्त्री बन्ने दौडमा सबैभन्दा बढी नेता देखिन्छन् । कांग्रेस स्रोतका अनुसार प्रचण्ड नेतृत्वको सरकारमा काङ्ग्रेसले ९ मन्त्रालय पाउनेछ । जसका लागि कांग्रेसबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुनेको टुङ्गो लागिसकेको स्रोतको भनाइ छ।
मन्त्री बन्नेहरुको सुची देउवा पत्नी आरजु राणासम्म पुगेको छ। ती नामहरु पहिलो चरणमा देउवा पत्नी आरजुले फाइनल गरेपछि मात्रै देउवा सम्म पुग्नेछ । नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने कुरा मोटामोटी सहमति भइसकेको अवस्थामा एकाएक परिस्थिति बदलिएको छ । यसपटक खड्का र आरजुको बिचमा मतभेद भएको कारण त्यसको फाइदा उठाउदै प्रकाशमान सिंहले नेतृत्व गर्ने भएका छन् ।
नेपाली कांग्रेसका एक नेताका अनुसार सरकारमा नेपाली कांग्रेसले अर्थ सहित ९ मन्त्रालय लिने र त्यसमा देउवा पक्षका ५, शेखर–गगन पक्षका ३ र प्रकाशमान स्वयं उनको पक्षबाट सहभागी हुनेछन्।
शेखर–गगन पक्षबाट धनराज गुरुङ, जीवन परियार र तेजुलाल चौधरी मन्त्री हुने पक्का छ । त्यसमा एकजना बढी पाएमा दिपक खड्का र प्रदिप पौडेलमध्ये एक थप हुनेछन् । यसैगरी संस्थापन पक्षबाट डा.प्रकाशशरण महत, किशोरसिंह राठौर, सिता गुरुङ, मोहन बस्नेत, एनपी साउदको नाम देउवाले प्रस्ताव गर्ने तयारी छ।
यसैगरी काठमाडौंका राजन केसी, सन्तोष चालिसे, मोरङका डा.सुनिल शर्मा, गोरखाका राजेन्द्र बजगाईं र भक्तपुरका दुर्लव थापा पनि मन्त्री नभए राज्यमन्त्री मात्रै भएपनि हुनुपर्ने अडानमा रहेको स्रोतले जानकारी दियो ।

