यसरी हटाइएको थियो ०५८ मा देउवा सरकार !

काठमाडौं, ४ चैत । २०५८ साउनमा बनेको तात्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकार गठनको तीन महिना नबित्दै देउवालाई हटाउने तयारीमा तात्कालिन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइराला लागेको कुरा खुलेको छ।
संसदीय दलमा आफ्नो पक्षमा बहुमत पु-याउन कोइरालाले पैसा बाँडेको समेत खुलेको छ। पत्रकार देवप्रकाश त्रीपाठीद्वारा लिखित पुस्तकमा सो प्रशंग उठाइएको छ।
‘सत्ता प्राप्तिका भद्दा छटपटी’ शीर्षकको अध्यायमा लेखक त्रिपाठी लेख्छन्–‘देउवाको समर्थनमा रहेका तराईका केही सांसदलाई आफ्नो पक्षमा मिलाउन नगद खर्च गर्ने योजना कोइरालाले बनाए । त्यसक्रममा सांसद खरिद गर्न भन्दै गिरिजाप्रसाद कोइरालाले महन्थ ठाकुरलाई बीस लाख रूपैयाँ उपलब्ध गराएका थिए, उक्त रकम महन्थले अमरेशकुमार सिंहको जिम्मा लगाए।’
लेखक त्रिपाठी अझै अगाडी लेख्छन–‘गिरिजाप्रसाद कोइराला र जमिम शाह(जो पछी मारिए)ले तराईका पाँचजना सांसद खरिद गर्न जम्मा एक करोड रूपैयाँ अमरेशकुमार सिंहको हातमा राखिदिँदै ४५ लाख रूपैयाँ केही दिनपछि उपलब्ध गराउने वचन दिए । दिईएको ५५ लाखमध्ये पाँच लाख अमरेशकुमार सिंहसँग गोविन्दराज जोशीले लिए ।’
नेपाली कांग्रेस कोइराला, देउवाहरूले चलाउँथे कि अमरेशकुमार सिंहहरूले भन्ने सवाल पनि पुस्तकमा उठाईएको छ। ‘प्रणव मुखर्जीसँग सुशीलले मागे नगद’, ‘नयाँ दिल्लीसँग यसरी जोडिए सिटौला’, ‘डा. अमरेशकुमार सिंह र बाह्रबुँदे सम्झौता’, ‘सत्ता प्राप्तिका भद्दा छटपटी’ आदि पुस्तकका अध्यायले नेका र काङ्ग्रेसी नेताहरूको वास्तविक चरित्रको चिरफार गर्दछन् ।
काङ्ग्रेस भित्रको अन्तरकलह, घात–प्रतिघात, विश्वासघात, घृणित खेलहरूको वृत्तान्तले नेका पाखण्डीहरूको झुन्ड हो भन्न बाध्य पार्छ । नेकालाई देश होइन दिल्ली दुख्छ ! नेकाको ‘चेन अफ कमान्ड’ लामो समयदेखि दिल्ली र बेलामौकामा ‘डिसी’ मा रहँदै आएको छ भन्दै लेेेखकले पुस्तकमा लेेेखेका छन् ।
पुस्तकमा अझै अगाडि लेखिएको छ कि देउवाबारे बुझ्न यो प्रसङ्ग पर्याप्त होला ! ‘प्रधानमन्त्री बन्नबाट यसरी रोकिए तारानाथ’ शीर्षकको अध्यायमा यसरी भनिएको छ, “रातको नौ बज्न लागिसकेको थियो, देउवा मदिराको नशामा रहेछन् । ‘‘..फोनमा राम्रोसँग कुराकानी गर्न देउवाले नसकेपछि पशुपतिभक्तले देउवापत्नी आरजुलाई टेलिफोन गरेर सबै कुरा बेलिविस्तार लगाए । आरजुले देउवालाई नुहाउन बाथरुम पठाइन्, कागतीपानी पियाएर ‘नशा’ कम गराउने प्रयास गरिन् र गाडी चढाएर दरबार पठाइन् । यसरी शेरबहादुर देउवा २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बनाइए । यसरी यो देश देउवाले तेस्रोपटक मात्र होइन छैटौँ पटकसम्म ‘हाँके’ !
अर्को कुरा पनि लेखकले खुलाएका छन् कि नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा तात्कालिन पार्टी सभापति स्व.शुशिल कोईरालाको आग्रहमा शितल निवासबाट फोन गरेरै भारतबाट पैसा मागेको खुलेको छ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नेपालका तात्कालिन राष्ट्रपति डा.रामवरण यादवको कार्यालयबाट फोन गरेर पैसा ल्याएको र त्यो पैसा सिधै राष्ट्रपति यादवको निवासमा थुपारिएको आरोप समेत स्व.कोईराला माथि लागेको छ। ‘प्रणव मुखर्जीसँग सुशीलले मागे नगद’, ‘नयाँ दिल्लीसँग यसरी जोडिए सिटौला’ ‘डा. अमरेशकुमार सिंह र बाह्रबुँदे सम्झौता’, ‘सत्ता प्राप्तिका भद्दा छटपटी’ जस्ता कुराको समेत खुलासा भएको छ।
उक्त पैसा ल्याउन कांग्रेस नेता कृष्णप्रसाद सिटौला समेतको भूमिका रहेको समेत खुलाईएको छ। ‘आवश्यक खर्च’ गर्न शीतलनिवासबाट फोन गरी पैसा मागिएको, मागे अनुसार ‘पर्याप्त सहयोग’ भएको र ‘आवश्यक रकम खर्च भएर पनि ठूलो रकम उब्रिएको’ समेत चर्चा छ।
भारतबाट आएको पैसा र खर्च भएको पैसा मात्रै होईन बाँकी रहेको पैसा कती हो ? भन्ने कुरा राष्ट्रपति डा.यादव, स्व.काईराला र कृष्ण सिटौलालाई मात्रै जानकारी थियो। त्यसको हिसाब कतै देखाईएन ।
पत्रकार त्रिपाठीद्वारा लिखित ‘तुषानल’ अर्थात ‘भुसको आगो’मा उक्त कुराको पर्दाफास गरिएको छ।पुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्था लगायत विषयवस्तु समेटिएको छ।
बहुदलीय प्रजातन्त्र स्थापनापछि देशमा भएका राजनीतिक घटनाक्रमलाई पुस्तकमा समेटिएको छ।पत्रकारका हैसियतले आफूले देखेको,भोगेको र बुझेको विषयवस्तुलाई पुस्तकमार्फत पाठकसामु प्रस्तुत गरेको त्रिपाठीको भनाई छ।

