माओवादी आन्दोलनबाट आएका सबै नेता इमान्दार हुनुपर्छ- डा. भट्टराई

काठमाडौं, २२ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्व माओवादी शक्तिहरु एकता गर्नुभन्दा अगाडि विचार विमर्श आवश्यक भएको बताएका छन्।
उनले एकता गर्ने हो भने पनि माओवादी आन्दोलनबाट आएका सबै नेता ईमान्दार भएमा मात्रै सम्भव हुने बताए । राजधानीमा आइतबार आयोजित ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले माओवादी शक्तिहरु एकता गर्ने कुरा खाली एकता मात्रै नभएर नयाँ ढंगको चेतना र नयाँ विचार सहितको एकता हुनुपर्नेमा जोड दिए ।
उनले माओवादी पुच्छर झुण्ड्याएर एकता गर्नुको औचित्य नभएको समेत बताए । ‘पार्टीको नाममा माओवादी पुच्छर झुण्ड्याएर कुनै प्रगति हुँदैन’ उनले भने- ‘शान्ति प्रक्रियामा आएर माओवादी पार्टी बिग्रियो भन्नु पनि गलत हो । कहाँ बिग्रियो ? आउनुस बहस गरौं। साथीहरुको बुझाई पनि एउटै भएन। जसले गर्दा सहीद बेपत्ताको सवाल र सेना समायोजन सही ढंगले हुन सकेन।’
उनले ३ वर्ष अगाडिको कुरा झिकेर बहालवाला प्रधानमन्त्रीलाई मुद्धा लगाउन खोज्नु प्रतिकृयावादीहरुको निहुँ खोज्ने कुरा मात्रै भएको समेत बताए । ‘तीन वर्ष अगाडि बोलेको कुरालाई अहिले मुद्दा हाल्नुपर्छ भन्नु निहुँ खोज्नु मात्रै हो’ उनले भने-‘यो परिवर्तन देख्न नचाहने शक्तिले गर्ने हर्कत हो। यसको सबैले विरोध गर्नुपर्दछ।’

