राष्ट्रपति एवं उपराष्ट्रपति उम्मेदवारले ४ लाख मात्रै खर्च गर्न पाउने

काठमाडौं, २० फागुन । फागुन २५ मा हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू भैसकेको छ। आगामी ५ चैतसम्म आचारसंहिता लागू हुनेछ । राष्ट्रपतिमा रामचन्द्र पौडल र सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन प्रकृया शुरु हुनेछ । उपराष्ट्रपतिमा आठ दलले जसपाले उठाउने उम्मेदवारलाई सघाउने भनेको छ। एमालेले राष्ट्रपति निर्वाचन पछि मात्रै उपराष्टपति उम्मेदवार बारे निर्णय लिने जनाएको छ।

यसैगरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले गर्ने चुनावी खर्चको सीमा समेत तोकिदिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।

तोकिएको सीमाअनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।

चुनावको नतिजा घोषणा भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय