बाटो नभएको ठाउँमा पुल बनाउँदा अख्तियारमा भ्रष्टाचारको मुद्दा

 

काठमाडौं, १४ फागुन । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

गोरखा नगरपालिका-३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको भन्दै प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने गरी बनेको पक्की पुल दुवैतर्फ सडक नभएको ठाउँमा थियो । सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो ।

त्यस क्रममा सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको आरोप छ।

अख्तियारको विज्ञप्तिमा ५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी गरिएको जनाईएको छ ।अख्तियारले निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार विगो मागदाबी गरेको छ ।

त्यसैगरी डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियतपूर्वक गुरु योजना बनाएको आरोप लगाएको छ । उनीमाथि काल्पनिक सडकको नाम दिई सार्वजनिक वनक्षेत्रको जथाभावी प्रयोग गरी बाटो बनाएर राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय