प्रचण्डले एमालेलाई राष्ट्रपति नदिएर सत्ताबाहिर पुर्‍याउन सक्लान् ?

परेवान्युज विश्लेषण

काठमाडौं, १२ फागुन । अबको केही घन्टामा राष्ट्रपति उम्मेदवारबारे ठोस सहमति नजुटे वर्तमान सत्ता गठबन्धन धरापमा पर्नेछ । सत्ताको ठूलो दल नेकपा एमालेले राष्ट्रपति आफुले नपाए सत्तामा नबस्ने सार्वजनिक गरिसकेको छ । एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति नपाए सत्ता छाड्ने अभिव्यक्ति दिइसकेका छन् ।

पुस १० मा एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यतिबेला प्रधानमन्त्री आफुले पाए राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति गरेको भन्ने एमालेको दावी छ ।

तर, अहिले प्रधानमन्त्री प्रचण्डको बोली फेरिएको छ । राष्ट्रिय सहमतिमा राष्ट्रपति उम्मेदवार उठाउनुपर्ने भन्ने अडानबाट समेत प्रचण्ड अहिले नेपाली काङ्ग्रेसलाई राष्ट्रपति दिने मुडमा पुगिसकेको देखिन्छ । पुस १० यता भारत, चीन र अमेरिकाले समेत राष्ट्रपतिको बिषयमा चासो लिएपछि प्रचण्ड अफ्ट्यारोमा परेको कुरा सहजै बुझ्न सकिन्छ ।

अबको केही घन्टामा दलहरूको ‘म्याराथन’ भेटघाट चल्नेछ । भर्खरै नेपाली काङ्ग्रेस समेतको पुरानो गठबन्धनका दलहरू छलफल सकेर बालुवाटार बाट निस्केका छन् । केही बेरमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बिच ‘वान टु वान’ बार्ता हुदैछ ।

त्यसलगत्तै एमालेको आन्तरिक बैठक छ । यहि बिचमा नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपाको समेत आ-आफ्नो पार्टीको अनौपचारिक बैठक बस्दैछ । नेपाली काङ्ग्रेसले कर्यसम्पादन समितिको बैठक शनिबार राखेको छ ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका छ। तर, दलहरू राष्ट्रपति उम्मेदवार कसलाई उठाउने र कुन दलले पाउने भन्नेमा अहिलेसम्म अलमल मै छन् । त्यसो त सत्ता गठबन्धन कि पुरानो (पुस १० अघिको) गठबन्धनबाट राष्ट्रपति बन्ने भन्ने पनि टुंगो छैन ।

अर्को कुरा पुरानो गठबन्धन दलहरू मिल्दा राष्ट्रपति जित्ने अवस्था छ । तर,सरकार बचाउन आवश्यक पर्ने १३८ सांसद पुग्दैन । यहि बिचमा पुरानो गठबन्धन ब्युताउने हो भने सरकार बचाउन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी वा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा मध्य एकको समर्थन चाहिन्छ ।

उता नेकपा एमाले पनि हार मान्ने अवस्थामा छैन । उसले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी एकता सहित राष्ट्रपति बनाउने कार्ड फालिरहेको छ । उता जसपालाइ उपराष्टपति दिएर फकाउने र आफ्नो पक्षमा लैजाने कसरत पनि एमालेले गरेको छ ।

फागुन १० मा बसेको समाजवादी सचिवालय बैठकमा माधव नेपालले ओलीले फकाएको बारे ब्रिफिङ गरेका थिए। ‘तपाईंको पार्टी एमालेमा मिलाऊँ र ठूलो बनाऊँ,’ ओलीको प्रस्तावबारे नेपालले भने, ‘संसदको ठूलो दल भएपछि राष्ट्रपति मात्र होइन अरु धेरै गर्न सक्छौँ भन्ने ओलीजीले प्रस्ताव राख्नुभयो।’

ओलीको खेल समाजवादीलाई जोडेर संसदको ठूलो पार्टी बन्ने र प्रचण्ड सरकार ढालेर सत्ताको नेतृत्व गर्ने भन्ने छ । तर,योजना बनाउदा बनाउदै एमालेले राष्ट्रपति सहित केन्द्रिय सत्ता र बिस्तारै प्रदेश सरकार समेत गुमाउने खतरा पनि त्यत्तिकै छ ।

ठूलो पार्टी बनेर सत्तामा खेल्ने ओलीको यो प्रयासले सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तामा फर्किने सुत्र खोज्दै बसेको कांग्रेसलाई झस्कायो । सायद यहि बुझेर प्रधानमन्त्री प्रचण्ड सिधै काङ्ग्रेस सहितको राष्ट्रिय सहमति भन्न बाध्य भए । ओलीले सत्ता हत्याए भने फेरि संसद् भंग गरेर अस्थिरता फैलाउन सक्छन् भन्ने त्रासका बिच एमालेलाई सत्ताबाटै पाखा लगाउने अभियान यहि राष्ट्रपति चुनावबाट हुने देखिन्छ ।

संविधान, लोकतन्त्र जोगाउन हिजो जस्तै आजपनी पुरानो गठबन्धन बिच नै सत्ता तालमेल हुनुपर्ने काङ्ग्रेस नेताहरू बताउछन् ।’एमाले पहिलो दल भयो भने संविधान धरापमा पर्छ’ काङ्ग्रेसका एक केन्द्रिय सदस्य भन्छन् -‘एमाले अध्यक्षले आफूलाई सहज हुने राष्ट्रपति खोज्नुको कारण त्यही हो।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...