एमालेले राष्ट्रपतिमा माधव नेपाललाई समर्थन गर्ने !

काठमाडौं, ९ फागुन । यतिबेला देशमा नयाँ राष्ट्रपति निर्वाचनले दलहरूको दौडधुप र छलफल चलिरहेको छ । राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेमा दलहररुबीच सहमति भएको छैन ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवार उठाउनुपर्छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि निर्वाचन कार्यालय खडा गरी काम सुरु गरिसक्दा पनि दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
खासगरी पुस १० गते माओवादी केन्द्र र नेकपा एमालेसहित केही साना दल मिलेर बनेको वर्तमान सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले लिने मोटामोटी सहमति भएको कुरा बाहिर आयो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला नाटकीय रुपमा पुरानो गठबन्धनमा रहेको प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीले समेत सरकारलाई विश्वासको मत दिए ।
काङ्ग्रेस, समाजवादीसहित सबै पुरानो गठबन्धनबाट विश्वासको मत लिन सकेकोमा प्रचण्डसँग एमाले नेता केपी शर्मा ओली झस्किए । त्योसँगै वर्तमान गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको मन्त्री र सांसद पद नागरिकता विवादले गयो । गैरसांसद भैसकेका रविलाइ गृहमन्त्री बनाउन ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहे तर प्रचण्डले मानेनन् ।
त्यसपछि गठबन्धनभित्रैको सुदुरपश्चिम सरकार पनि ढल्यो । यी सबै घट्नाक्रमले अब राष्ट्रपति निर्वाचन सम्म जाँदा वर्तमान सत्ता गठबन्धनमा समस्या आउने देखिन्छ । यसैको फाइदा उठाउँदै नेपाली काङ्ग्रेसले राष्ट्रपति हात पार्ने तयारी गरिरहेको छ भने एमाले जसरी पनि रोक्ने योजनामा छ ।
यसकै लागि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारदेखि बालकोटसम्म २३ पटक भेट भइसकेको छ । हरेक भेटमा राष्ट्रपतिकै विषयमा चर्चा चलेको दुई नेताका सचिवालयले बताइरहेका छन् । तर अझै कुरा मिलेको छैन । एमालेबाट राष्ट्रपति बन्ने अवस्था नभए अध्यक्ष ओलीले मन अमिलो बनाएरै भएपनि काङ्ग्रेसलाई रोक्न ‘प्लान बी’ अर्थात माधव नेपाललाई सघाउन सक्ने अवस्थामा पुगेका छन् । अन्य दलका नेताभन्दा माधव नेपाललाई राष्ट्रपतिमा स्वीकार गर्न सहज हुने एमालेकै कतिपय नेता बताउँछन ।
बाहिर नाम आएका नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला र लोसपाका महन्थ ठाकुर हुनुभन्दा माधव नेपाल नै ठिक भन्ने अवस्थामा एमाले पुगेको देखिन्छ । तर, माधव नेपाल अहिले सत्ता गठबन्धनमा छैनन् । त्यसका लागि नेपाल सत्तारुढ गठबन्धनमा आउनुपर्ने एमालेको शर्त हुनसक्छ ।
यता नेपाली काङ्ग्रेसलाई वचन दिइसकेका प्रचण्डले माधव नेपाल सत्ता गठबन्धनमा आएर राष्ट्रपति हुन्छु भनेको अवस्थामा के गर्लान् ? यो अर्को महत्त्वपूर्ण विषय छ । किनभने एमाले अध्यक्ष ओलीले राष्ट्रपति बनाउन प्रस्ताव गरे आफू राष्ट्रपति बन्न तयार रहेको नेता नेपालले बालुवाटार पुगेर प्रचण्डलाई बताइसकेका छन् ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने दलहरूको कुरामा यदि माधव नेपालको पक्षमा राष्ट्रिय सहमति जुटाउनेगरी दलहरुको छलफल भएमा काङ्ग्रेस बाहिर पर्न सक्छ । यदि पुरानो गठबन्धन ब्युँतिने अवस्थामा भने एमाले सत्ता बाहिर पनि हुनसक्छ ।
त्यसैले सत्ता बाहिर जादा प्रदेश सरकारमा समेत प्रभाव पर्ने भएकोले एमालेले माधवकुमार नेपाललाई नै आफ्नो उम्मेदवार बनाउने कुरामा निर्णय गरेमा आश्चर्य मान्नुपर्ने छैन ।

