नेपालमा आएर नामिबिया जीतविहिन, स्कटल्यान्डको दोस्रो जीत

काठमाडौं, ८ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नामिबिया जीतविहीन बनेको छ । सोमबार भएको आफ्नो अन्तिम खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भयो ।
स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमा समेटियो । ओपनर लोहान लरेन्सले ५२ तथा कप्तान गेरार्ड इरास्मसले ४३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् । स्कटल्यान्डका मार्क वाटले ४ विकेट लिँदा माइकल लिस्कले ३, ब्रान्डन माकमुलनले २ र क्रिस ग्रिभ्सले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८.४ ओभरमा अलआउट हुँदै २२१ रन बनाएको थियो । उसका लागि क्रिस्टोफर माकब्राइडले ४७ रन बनाउँदा टोमस माकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङटनले ३२ रन बनाएका थिए ।
नामिबियाका रुबेन ट्रम्पलमेनले ९४ ओभरमा ३० रन मात्र खर्चेर ५ विकेट लिएका थिए भने ताङ्गेनी लूङ्गामेनीले २ विकेट लिँदा बर्नार्ड स्कोल्ज, बेन सिकोङ्गो र पिक्की याफ्रान्सले १-१ विकेट लिए ।
यस श्रृंखलाको अन्तिम खेलमा भोलि नेपाल र स्कटल्यान्ड खेल्ने छन् ।

