माओवादी केन्द्रिय समितिमा प्रचण्ड परिवार र सचिवालयलाई अवसर

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रले बिहिबार सार्वजनिक गरेको केन्द्रीय समितीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवार र उनको सचिवालयमा रहेका अधिकांशले अवसर पाएका छन् ।
माओवादीले सार्वजनिक गरेको ५ सय ८७ जनाको सूचिमा प्रचण्डका दुई छोरी रेणु दाहाल र गंगा दाहाल, भाई नारायण दाहाल, ज्वाईं जीवन आचार्य परेका छन् । यसैगरी उनको सचिवालयमा रहेका मुख्यसचिव सन्तु दराईसहित रमेश मल्ल, गोकर्ण भट्ट, मनहरि तिमिल्सिना पनि समेटिएका छन् ।
यसैगरी सार्वजनिक सूचिमा नाम भएकी उर्मिला अर्याल भर्खरै राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित भएकोले उनले राजीनामा दिईसकेकी छिन् । तर, भूलवश उनको नाम पनि छ । त्यसैगरी अध्यक्ष प्रचण्डको गृह जिल्लाका पूर्व माओवादी नेता हालका एमाले नेता यम बहादुर परियार समेत माओवादी केन्द्रिय समितीमा देखिए । सूचीको २४६ नम्बरमा नाम भएका परियार गत मंसिरमै एमाले गएका हुन् ।
सार्वजनिक सूचि अनुसार माओवादीको पदाधिकारी मात्रै २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना र केन्द्रीय समितिमा ३८५ जना रहेका छन् । त्यसैगरी वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् । सार्बजनिक गरिएको पदाधिकारीमा अध्यक्ष प्रचण्ड पछी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा,अग्निप्रसाद सापकोटा र पम्फा भुषाल छन् ।
यसैगरी महासचिव देवप्रसाद गुरुङ र उपमहासचिवमा गिरिराजमणी पोखरेल,बर्षमान पुन,हरिबोल गजुरेल,जनार्दन शर्मा,शक्तिबहादुर बस्नेत र मातृका यादव छन् ।
माओवादीले सचिवमा दिननाथ शर्मा, चक्रपाँणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की(राम कार्की) लाई जिम्मेवारी दिएको छ । यर्सैगरी श्रीराम ढकाललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।

