विप्लव माओवादीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं, २५ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव विप्लवले चर्को महंगीका विरुद्धमा देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताए ।

विप्लव माओवादीले दलाल पूँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय समेत गरेको छ । त्यसैगरी पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टीसँग विचारको आधारमा एकता वा सहकार्य गर्ने समेत बताए ।

‘राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्नेछौं’, उनले भने- ‘पार्टीले एमसिसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध पनि संघर्ष गर्ने छ ।’

राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ भन्दै विप्लवले बैंकको चर्को ब्याजदर र लघुवित्तको शोषण विरुद्ध आन्दोलन आवश्यक भएको बताए ।

उनले आफ्नो पार्टीका ४० जना नेताकार्यकर्ताहरु अझै पनि विभिन्न जेलमा रहेको भन्दै तत्काल छाड्नु पर्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय