माधव र उपेन्द्रलाई फकाउँदै प्रचण्ड

काठमाडौं, २५ माघ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेसँगै सत्ता साझेदार दलभित्र समस्या देखिन थालेको छ ।
सत्ता गठबन्धन जसरी पनि जोगाउने दबाबमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको पार्टीको सट्टामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई सत्ता गठबन्धनमा ल्याउने पहल थालेका छन् ।
तर, सत्ता साझेदारमध्येको ठूलो दल नेकपा एमालेले भने माधव नेपालभन्दा रवि लामिछानेकै दललाई फकाएर सरकारमा ल्याउनुपर्ने अडान लिएको छ । एमाले अध्यक्ष केपी ओली लामिछाने प्रति नरम देखिएका छन् । उनले माधव नेपालको पार्टीलाई कुनैपनि अवस्थामा सत्तामा आउन नदिने बताउँदै आएका छन् ।
नागरिकता विवादपछि अदालतको फैसलाबाट गैरसांसद बनेका रवि पुनः गृहमन्त्री बन्ने योजना असफल भएपछि आफ्ना मन्त्रीलाई समेत फिर्ता बोलाएर पार्टी निर्माणमा जुटेका छन् ।रास्वपाको सत्ता बहिर्गमनपछि कुनैपनि बेला सरकारमा समस्या आउने र त्यसबेला अस्थिरता हुने खतरा देखेर प्रधानमन्त्री प्रचण्डले जसपा र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन प्रयास थालेका हुन्।
संसदमा जसपाको १२ र एकीकृत समाजवादीको १० सांसद छन् । प्रधानमन्त्री प्रचण्ड रास्वपाको १९ सांसदको सोधभर्ना ती दुई दलबाट गर्न चाहन्छन । राष्ट्रपति उपराष्ट्रपति चुनाव समेत नजिक आइरहेको बेला सरकारलाई अप्ट्यारो स्थिति नआओस भनेर प्रधानमन्त्रीले मंगलबार बेलुकी एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवसँग लामो छलफल गरेको स्रोतको भनाइ छ ।
जसपाले प्रचण्डलाई सरकार बनाउन समर्थन गरेपनि सरकारमा सहभागी छैन। यतिबेला जसपा र एकीकृत समाजवादी काङ्ग्रेससँगै बिपक्षी गठबन्धनमा सहभागी छन् ।
मंगलबार बेलुका ७:३० देखि ९:२० सम्म झन्डै २ घण्टा भएको तीन नेताको छलफलमा समाजवादी केन्द्र बनाएर जाने बारेमा समेत छलफल भएको थियो ।

