राष्ट्रपति बाबुराम कि देउवा ? एमालेले नपाउने !

काठमाडौं, १८ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँगै गठबन्धनका दलहरूबीच सत्ता समीकरणको पुर्व सन्ध्यामा भएको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति नपाउने भएको छ ।
प्रधानमन्त्री चयनको बेला राष्ट्रपति र सभामुख एमाले,प्रधानमन्त्री र उपराष्टपति माओवादी केन्द्र अनि उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले लिने सहमति थियो । सोही सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, एमाले नेता देवराज घिमिरे सभामुख र रास्वपाले उपसभामुख पाइसकेको छ ।
सहमति अनुसार ७ प्रदेशको मुख्यमन्त्री र सभामुख सहित मन्त्रीहरु समेत नियुक्त भैसकेपछी राष्ट्रपति र उपराष्टपतिको निर्वाचनमा भने यो समीकरण भित्र नेपाली काङ्ग्रेसको प्रवेश भएको छ ।
प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदै गर्दा नेपाली काङ्ग्रेसले राष्ट्रपतिमा दावी गर्न सजिलो हुनेगरी निशर्त विश्वासको मत दियो । त्यो शृङ्खला प्रदेश सम्म पनि कायम रह्यो । माओवादीको मुख्यमन्त्री भएको बागमती प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्रीलाई पनि विश्वासको मत दियो । त्यसपछि राष्ट्रपतिको लागि काङ्ग्रेसले माओवादीसँग सम्बन्ध सुधार गर्दै बार्गेनिङ तह सम्म आइपुगेको छ ।
अर्कोतिर नेकपा एमालेले राष्ट्रपति दाबी गरिरहँदा माओवादी भने सहमतिमा राष्ट्रपति चुनिनुपर्ने र चुनाव नै भएपनि एमाले बाहेकको उम्मेदवार हुनुपर्ने अडानमा पुगेको छ । माओवादीले दलभित्र बाट हुँदा एमाले बाहेकको दल र त्यो नहुँदा पुर्व प्रधानन्यायाधीश मध्यबाट राष्ट्रपति बनाउने तयारी गरेको स्रोतको भनाइ छ ।
यता पछिल्लो समय राष्ट्रपति हुनको लागि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा आफैं तयारी गरिरहेको र प्रचण्ड त्यसमा मौन रहेको बुझिएको छ । त्यसो हुँदा एमाले र काङ्ग्रेसलाई बराबर दुरीमा राखेर आफु ५ वर्ष नै प्रधानमन्त्री बन्ने लोभमा प्रचण्ड पुगेको देखिन्छ । नेपाली काङ्ग्रेसले देउवा नहुँदा कृष्णप्रसाद सिटौलालाई राष्ट्रपति बनाउन सक्ने अनुमान धेरैको छ ।
यदि काङ्ग्रेसले राष्ट्रपति नपाउने अवस्थामा माओवादी आफैंले राष्ट्रपति राखेर उपराष्टपति एमालेलाई दिन सक्ने गरी समेत छलफल सुरु भएको बुझिएको छ । यसो हुँदा राष्ट्रपतिमा माओवादीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई अगाडि सार्ने देखिन्छ ।
यद्यपि भट्टराईले आफू राष्ट्रपति हुन योग्य भएपनि चाहना नराखेको बताएका छन् । उनले आफ्नो नाममा पनि चर्चा गर्नु स्वभाविक भएको तर, कसैसँग राष्ट्रपति बनाइदेऊ नभनेको बताएका छन् । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुराको भने बाबुराम बिरोधि हुन् ।
आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेले इश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, गोमा देवकोटा र सुवास नेम्वाङमध्येबाट राष्ट्रपति बनाउने चर्चा बाहिर आएको छ ।
यसैगरी नेपाली काङ्ग्रेसले पाउने ग्यारेन्टी भएमा शेरबहादुर देउवा र कृष्ण सिटौलामध्येबाट उम्मेदवार हुनेछन् भने माओवादीले पाउँदा डा.भट्टराई नै हुने बुझिएको छ ।
यदी गैरराजनीतिक व्यक्तिको बारेमा चर्चा गर्दा पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, खिलराज रेग्मी र समाजसेवी अनुराधा कोइरालाको नाम चर्चामा छ ।

