एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
रासस
काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ ।
सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए ।
लामिछानेले मंगलबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रचण्डसँग माग गरेका थिए । गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ ।
नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन् । नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन् । उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन् ।

