प्रचण्ड, बाबुराम र विप्लव एकतानजिक

काठमाडौं, १३ माघ । पुष्पकमल दाहाल’प्रचण्ड’, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ र धर्मेन्द्र बाँस्तोला नेतृत्वको माओवादी घटकहरुबीच छिट्टै एकता हुने भएको छ ।

यद्यपि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी अहिले माओवादी घटक भित्र पर्दैन । तर, पुर्वमाओवादी नेताहरूले पार्टीको नाम र चुनाव चिन्ह बाहेक सबै कुरामा सहमति नजिक पुगेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिन्ह फेर्न लचक भएपनि नामको अगाडि ‘कम्युनिस्ट शव्द’ चाहिँ हुनुपर्ने अडान लिएको छ भने डा.भट्टराईले कम्युनिस्ट शब्द बाहेकको नाम राख्नेमा सहमति गरौं भनिरहेका छन् । उता विप्लवले भने तत्काल कार्यगत एकता मात्रै गर्ने र पछि पार्टी एकता गर्ने भनेका छन् । यद्यपि शिर्ष नेताहरुले छिटोभन्दा छिटो एकता प्रक्रिया टुंगो लगाउन कार्यदललाई जिम्मा दिएका छन् ।

यो एकता प्रक्रियामा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाहेक अन्य पार्टीलाई एकैठाउँमा ल्याउन माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा, उपमहासचिव शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सक्रिय छन्।

उनीहरुले माओवादी घटक मात्र होइन नेकपा एमालेदेखि एकीकृत समाजवादीका पदाधिकारी तहका नेताहरुसँग पनि एकतासम्बन्धी छलफल गरिरहेका छन् । तर, यो एकता तत्काल हुने देखिन्न । एकीकृत समाजवादीले माओवादीसंग भन्दा उपेन्द्र यादव नेतृत्वको जसपा र वामदेव गौतम नेतृत्वको एकता अभियानसंग छलफल चलाएको छ ।

माओवादीबाट विभाजन भई बनेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र गोपाल किराँती नेतृत्वको एकीकृत माओवादी केन्द्र लगायतसँग एकताको कुरा नजिक पुगेको माओवादीका एक नेताले बताए। ‘पुर्व माओवादी घटकहरु संगको पार्टी एकता लगभग अन्तिम चरणमा छ’-एकतको पहल गरिरहेका माओवादी नेता भन्छन् -‘अब सबै हिजोका साथीहरू एक ठाउँमा उभिनुको विकल्प छैन ।’

सकेसम्म राष्ट्रपति चुनाव अगाडि नै एकता गर्ने र मत बढाउने पक्षमा माओवादी देखिएको छ । पहिलो चरणमा बाबुराम भट्टराई नेतृत्वको नेसपा र गोपाल किराँतीसँग एकता हुने र दोस्रो चरणमा प्रभु शाह, विप्लव र नेकपा बहुमतसँग एकता पहल गरिने माओवादीका एक नेताले बताए । ‘राष्ट्रपति चुनाव अगाडि नै एकता गरौं भन्ने छ’ उनले भने- ‘त्यसो गर्दा एमाले र काङ्ग्रेसलाई दबाबमा राख्न पनि सकिन्छ ।’

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालको चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको भएपनि २०६५मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र संग एकता गरेपछि २०६९ देखि टुक्राटुक्रा हुँदै गएको हो । २०५२ साल फागुन १ देखि सुरु भएको १० वर्षे जनयुद्धपछि माओवादी शक्तिशाली बनेर उदाएको थियो । त्यसपछि २०६९ असार ४ गते पार्टी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ सहित सिपी गजुरेल, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द, पम्फा भुसाल, देव गुरुङ, धर्मेन्द्र बास्तोलाले माओवादीबाट अलग भई नेकपा–माओवादी गठन गरेपछि औपचारिक रुपमा माओवादी पार्टी विभाजन शुरु भएको हो ।

त्यसपछि २०७२ साल असोज ३ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए लगत्तै तात्कालिन उपाध्यक्ष डा.बाबुराम भट्टराईले पनि सो पार्टी छाडे । २०७२ असोज १० गते उपाध्यक्ष भट्टराईले पार्टी छाडेर केही समय्पछी नयाँ शक्ति बनाए । हाल उनी नेसपा अध्यक्ष छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत भने २०७९ मा बिप्लव नेतृत्वको नेकपा बिभाजन भएर नेकपा (बहुमत) गठन भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...