काङ्ग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेस समेतको विश्वासको मत पाउने भएका छन् । दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डलाई बिश्वासको मत दिने काङ्ग्रेसको सर्वसम्मत निर्णय भएको छ ।

चुनावी गठबन्धन छाडेर पुस १० गते नेकपा एमाले समेतको समर्थनमा बनेको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका हुन । गठबन्धन छाडेर धोका दिएको भन्दै काङ्ग्रेस र एकीकृत समाजवादी प्रचण्डसंग रुष्ट छन् । तर, यी दुबै दल विश्वासको मत दिन तयार भएपछि प्रचण्डले लगभग सबैको साथ पाउने देखिएको छ ।

राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको १/१ सांसद बाहेक सबैले प्रचण्डलाई मत दिने देखिएको छ । नेकपा माओवादी केन्द्रसंगै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थन पहिले नै पाएका प्रचण्डले काङ्ग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपाको समेत विश्वासको मत पाउने अवस्था छ ।

यद्यपि समर्थन गर्ने मध्यका केही पार्टी प्रतिपक्षमा बस्ने बुझिएको छ । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना भित्रै विश्वासको मत लिन लागेका हुन् । केहिबेरमा संसद बैठक शुरु हुँदैछ ।

दुई वा सो भन्दा बढी दलको मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय