काँग्रेस संसदीय दलको चुनाव आज हुँदै

काठमाडौं, ६ पुस । नेपाली काँग्रेसको संसदीय दलको चुनाव आज हुँदैछ । दलको नेता चुन्नका लागि अहिले विहान ८ बजेदेखि १० बजेसम्म चुनावको समय तोकिएको छ ।
संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् । काँग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेको छ ।
देउवा यसअघि दलको नेता हुँदै पाँचपटकसम्म प्रधानमन्त्री बनिसकेका छन् र दलको नेता चुनिएर छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । थापाले भने पहिलोपटक दलको नेताका लागि उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिले ८९ सांसदको नाम अन्तिम मतदाता नामावलीको रूपमा प्रकाशन गरेको छ । अहिले कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ ।

